अमेरिकाले नेपालका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्यो, सतर्कता अपनाउन आग्रह
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । अमेरिकाले नेपालका लागि आफ्नो यात्रा परामर्श (ट्राभल एड्भाइजरी) अद्यावधिक गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मार्च ३१ मा अद्यावधिक गरिएको परामर्शअनुसार नेपाललाई लेभल–२ मा राखिएको छ, जसको अर्थ 'थप सावधानी अपनाउनुपर्ने' हो।
यसअघि देशभर भएका प्रदर्शन र आन्दोलनका कारण कडाइ गरिएको परामर्श अहिले घटाइएको हो। परामर्शमा सेप्टेम्बर २०२५ देखि सुरु भएका प्रदर्शनहरू हाल रोकिएको र सुरक्षा अवस्था सामान्य बन्दै गएको उल्लेख छ। तर, सहर क्षेत्रमा अझै पनि कहिलेकाहीँ प्रदर्शन वा अशान्ति हुन सक्ने चेतावनी दिइएको छ। त्यसैले अमेरिकी नागरिकलाई भीडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिइएको छ।
स्वास्थ्य सेवाका विषयमा काठमाडौंका अस्पताल अन्य क्षेत्रभन्दा राम्रो भए पनि धेरै भीड हुने, औषधि र उपकरणको कमी हुन सक्ने तथा उपचारअघि नै पैसा तिर्नुपर्ने समस्या रहेको जनाइएको छ। साथै, विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने स्पष्ट गरिएको छ। त्यसैले यात्रुहरूलाई आवश्यक औषधि साथमा ल्याउन र मेडिकल इभ्याकुएसन सुविधा समेटिएको यात्रा बिमा गर्न सिफारिस गरिएको छ।
प्राकृतिक जोखिमबारे पनि परामर्शमा उल्लेख गरिएको छ। नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम नियमित रहने बताइएको छ। विशेषगरी मनसुन (जुनदेखि सेप्टेम्बरसम्म) मा भारी वर्षाका कारण बाढी र पहिरो आउन सक्ने र यसले सडक तथा आपतकालीन सेवामा असर पार्न सक्ने चेतावनी दिइएको छ।
यसैबीच, नेपाल यात्रा गर्ने अमेरिकी नागरिकलाई दूतावास वा कन्सुलेटमार्फत उपलब्ध सूचना प्रणालीमा दर्ता हुन, स्थानीय समाचार हेर्दै बस्न र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न तयार रहन पनि आग्रह गरिएको छ।













