माछा मारेर फर्किंदै गर्दा चट्याङले मकवानपुरमा एक जनाको ज्यान गयो
Prime TV News ३ दिन अगाडि 
हेटौडा । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मंगलबार साँझ हुरीसहित परेको वर्षाका बेला बागमती गाउँपालिका–१ भैसेस्थित बागमती खोलाको बगरमा दुई जना चट्याङको चपेटामा परेका हुन्।
घटनामा ३२ वर्षीय अजय पहरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडास्थित अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति उनको मृत्यु भयो। घाइते भएका अर्का ३७ वर्षीय उज्वल थोकरको हेटौँडामै उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
प्रहरीका अनुसार दुवै जना माछा मारेर घर फर्किंदै गर्दा अचानक परेको चट्याङले उनीहरूलाई लागेको थियो। सुरुमा पहरीलाई नजिकैको सान्भि पोलिक्लिनिकमा प्राथमिक उपचार गराइएको थियो, त्यसपछि थप उपचारका लागि हेटौँडा पठाइएको थियो ।
यो घटना सामान्य लापरबाही कति घातक हुन सक्छ भन्ने स्पष्ट देखिन्छ। चट्याङ परिरहेको बेला खुला स्थानमा बस्नु वा हिँड्नु सीधै जोखिम निम्त्याउने काम हो, जुन धेरैपटक ज्यानै लिने साबित भएको छ।













