सर्वोच्च अदालतमा नेतृत्व परिवर्तन, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतमा नेतृत्व परिवर्तन भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
३३ वर्ष वकालत र ८ वर्ष सर्वोच्च अदालतको न्यायाधीशको अनुभव बोकेका राउत वि.सं २०८१ असोज २० मा प्रधानन्यायाधीश बनेका थिए। ६५ वर्ष उमेरहद पूरा भएपछि उनले अनिवार्य अवकाश लिएका हुन्। उनको बिदाइ पनि मल्लले नै गरेकी थिइन्।
अब नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। न्याय परिषद्ले मल्ल सहित कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
संवैधानिक व्यवस्था अनुसार, प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा एक महिना अगाडि नै संवैधानिक परिषद्ले नाम सिफारिस गर्नुपर्छ। त्यसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।
यसबीच, सर्वोच्च अदालतको नेतृत्व अब मल्लको हातमा आएको छ, जसले न्यायालयको कामकारबाहीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।












