कर्मचारी व्यवस्थापन र सेवा प्रवाह सुधारका लागि आवश्यक कदम चाल्छुः प्रधानमन्त्री बालेन
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा १६ मध्ये १३ जना सांसद सहभागी भएका थिए।
बैठकमा सुदूरपश्चिमको विकास, योजना र स्थानीय समस्याका विषयमा छलफल भएको हो। सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या राख्दै समग्र प्रदेशको विकासका लागि सुझाव दिएका थिए। प्रधानमन्त्री शाहले सबै कुरा ध्यानपूर्वक सुनेर नोट गरिएको बताए। उनले प्रत्यक्ष भेटघाटबाट धेरै कुरा बुझ्न सहज हुने पनि उल्लेख गरे।
छलफलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति लगायत विकास योजनाबारे पनि कुरा भएको बताइएको छ। बैठकमा केही सांसदहरूले कर्मचारी व्यवस्थापन र सेवा प्रवाह सुधार गर्नुपर्ने सुझाव दिएका थिए। यसमा प्रधानमन्त्री शाहले आवश्यक कदम चाल्ने बताएका छन्।
त्यस्तै, केही सांसदहरूले केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विषय पनि उठाएका थिए। उनीहरूले प्रतिशोधको राजनीति नगर्न आग्रह गरेका छन्। समग्रमा, बैठकमा सुदूरपश्चिमको विकास र समसामयिक राजनीतिक विषयमा खुला छलफल भएको जनाइएको छ।












