पार्टीभित्र एकता कायम गर्न सबै नेता तथा कार्यकर्तालाई एकजुट हुनुपर्छः महामन्त्री पौडेल
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्न आग्रह गरेका छन्। उनले सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन अपिल गरेका हुन्।
सामाजिक सञ्जालमार्फत् उनले अहिलेको परिस्थितिमा पार्टी विभाजित हुनु नहुने बताएका छन्। विगतमा नेपाली कांग्रेस एकताकै बलमा देशका ठूला परिवर्तनमा सफल भएको उनको भनाइ छ। उनले आफू केवल महामन्त्री मात्र नभई एक साधारण कार्यकर्ताका रूपमा पनि एकताको पक्षमा उभिएको बताए। “हामी सबै एकजुट भयौं भने फेरि राम्रो भविष्य बनाउन सक्छौं,” उनले भने।
यसैबीच, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी गरेको छ। बैठक काठमाडौमा बस्ने बताइएको छ। पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद जारी छ। केही नेताहरू त्यसको पक्षमा छन् भने देउवा पक्षले यसको विरोध गर्दै मुद्दा अदालतमा लगेको छ। हाल कांग्रेसभित्र एकता कायम गर्ने विषय मुख्य चुनौतीका रूपमा देखिएको छ।












