आज देशभर बदली, वर्षा र चट्याङको सम्भावना
Prime TV News ४ दिन अगाडि काठमाडौ । आज देशका धेरै स्थानमा मौसम बदली भएको छ। बिहानदेखि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोसी र मधेस प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यस क्रममा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
काठमाडौं उपत्यकामा पनि आज वर्षा हुने संकेत देखिएको छ। मौसमविद्का अनुसार उपत्यकामा अहिले नै बादल लागेको छ र दिउँसो मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
राति पनि मौसम पूर्ण रूपमा खुल्ने छैन। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने राति मौसम प्रायः सफा रहनेछ।
मौसम महाशाखाले चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ।













