रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दा हेर्ने पेसी तोकिएको छ।
यो मुद्दा युवराज पौडेलले (सफल) दुई वर्षअघि दायर गरेको रिटमा आधारित छ। उनले महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरीत भएको भन्दै रिट दायर गरेका थिए।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। पौडेलको दाबी अनुसार, अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको भनी राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य हो।
पौडेलले लामिछानेले प्राप्त गरेको राहदानी कुन समयमा र कुन प्रयोजनका लागि प्रयोग गरे भन्ने विवरण अध्यागमन विभागबाट पेश गरियोस् भनि माग गरेका छन् । साथै, सर्वोच्चले दोहोरो छलफल नभएसम्म उनलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग नगर्न अन्तरिम आदेश जारी गर्न पनि रिटमा अनुरोध गरिएको छ।












