अमेरिकाका राष्ट्रपति ट्रम्पले भने– इरानको तेल कब्जा गर्ने इच्छा छ
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल कब्जा गर्ने इच्छा व्यक्त गरेका छन्। उनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा इरानको तेल निर्यात हुने प्रमुख टापु खार्ग नियन्त्रणमा लिन सकिने संकेत दिएका छन्।
ट्रम्पले भनेका छन्, “मेरो मनपर्ने काम इरानको तेल लिनु हो। तर केही मानिसहरूले यसबारे सोध्छन्, उनीहरू मूर्ख हुन्।” उनले खार्ग टापु कब्जा गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताए र भने, “हामीसँग धेरै विकल्प छन्, त्यसैले केही समय त्यहाँ बस्नुपर्ने हुन सक्छ।”
ट्रम्पले दाबी गरे कि खार्ग टापु सजिलै कब्जा गर्न सकिन्छ किनभने त्यहाँ कुनै विशेष सुरक्षा व्यवस्था छैन। अहिले मध्यपूर्वमा थप ३ हजार ५०० अमेरिकी सेना पठाइएको छ। उनले पाकिस्तानमार्फत अमेरिकासँग इरानबीच जारी अप्रत्यक्ष वार्ता प्रगतिशील रहेको पनि बताए।
इरान युद्ध सुरु भएयता तेलको मूल्य एक महिनामा ५० प्रतिशतभन्दा बढी बढेको छ। आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ अमेरिकी डलर पुगेको छ, जुन फेब्रुअरी २८ मा ७२ डलर आसपास थियो।













