रमेश लेखकको रिहाइ माग गर्दै सर्वोच्चमा रिट
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ। रिट उनकी पत्नी यशोदा लेखकले दायर गरेकी हुन्। निवेदनमा लेखकलाई बिना पर्याप्त कानुनी आधार हिरासतमा राखिएको भन्दै तत्काल रिहाइको माग गरिएको छ।
यसैबीच, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को रिहाइको माग गर्दै पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भइसकेको छ। ‘जेनजी आन्दोलन’ दमन गरेको आरोपमा प्रहरीले शनिबार लेखक र ओलीलाई पक्राउ गरेको थियो। उक्त आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
पक्राउपछि दुवै नेतालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत मा उपस्थित गराइएको थियो। सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेको छ । अदालतमा लेखकलाई भौतिक रूपमा उपस्थित गराइएको थियो भने स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालमा रहेका ओलीलाई भर्चुअल माध्यमबाट पेश गरिएको बताइएको छ।












