पूर्वमन्त्री दीपक खड्का पक्राउ, म्याद थपका लागि अदालतमा उपस्थित
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतका सूचना अधिकारीका अनुसार आज बिहान पक्राउ परेका खड्कामाथि थप अनुसन्धानका लागि म्याद थप माग गरिएको हो।
सरकारका अनुसार भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा खड्काको घरमा भेटिएको रकमको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। सो आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड तथा आगजनी गरेका थिए।
आगजनीपछि घरभित्र जलेको अवस्थामा नेपाली तथा विदेशी मुद्रा भेटिएको विषय सार्वजनिक भएको थियो। उक्त घटनासम्बन्धी भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए। साथै केही प्रदर्शनकारीले सुरक्षित रहेका नोटहरू लगेको देखिने दृश्यहरू पनि बाहिरिएका थिए।
जलेको रकमको स्रोत र प्रकृतिबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी परीक्षण प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन र बयान लिने प्रक्रिया जारी राखेको छ भने अदालतले म्याद थपबारे निर्णय गर्ने तयारी गरेको छ।












