ज्वालामुखी गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ५०० नागरिक लाभान्वित

User Image Prime TV News १ हप्ता अगाडि
Image of ज्वालामुखी गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ५०० नागरिक लाभान्वित

धादिङ । ज्वालामुखी गाउँपालिकाको आयोजनामा एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर स‌चाछ। चैत्र १४ गते वडा नं. ५ स्थित खरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिए । 

उक्त शिविर ज्वालामुखी गाउँपालिकाको आयोजना तथा रोट्री क्लब अफ मिड टाउन चितवन, चितवन मेडिकल कलेज र रोट्री क्लब अफ धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । शिविरमा जेनरल सर्जरी, जेनरल फिजिसियन, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।

करिब ५०० स्थानीय नागरिकले स्वास्थ्य परीक्षणबाट लाभ लिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो। गाउँपालिकाका अनुसार करिब १० लाख रुपैयाँ बराबरका औषधि वितरण गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ।

साथै, यस्ता कार्यक्रमहरूले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक चरणमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।