मध्यपूर्व तनाव कम गर्न पाकिस्तानको पहल, इरानी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच संवाद
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । मध्यपूर्वमा चर्किंदै गएको युद्धको ताप घटाउने र क्षेत्रीय तनावलाई शान्तिको दिशातर्फ मोड्ने उद्देश्यसहित पाकिस्तानले एक महत्त्वपूर्ण कूटनीतिक पहल अघि बढाएको छ ।
यसै सिलसिलामा साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरू मार्च २९ र ३० मा इस्लामाबाद पुग्ने भएका छन्, जहाँ उनीहरूले इरान युद्धको अवस्थाबारे गहन छलफल गर्नेछन् ।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले शनिबार शहबाज सरिफसँग एक घण्टाभन्दा लामो टेलिफोन संवाद गरेका छन् । स्रोतहरूका अनुसार, उक्त संवादमा दुवै नेताले क्षेत्रमा जारी द्वन्द्व र शान्ति पुनस्र्थापनाका सम्भावनाहरूबारे विचार–विमर्श गरेका थिए । साथै, पाकिस्तानले इरानसमक्ष युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकाको प्रस्ताव पनि राखेको बताइएको छ ।
उता, इरानी अधिकारीहरूले सम्भावित वार्ताका लागि पाकिस्तान वा टर्की उपयुक्त स्थल हुन सक्ने संकेत दिएका छन् । राष्ट्रपति पेजेस्कियानले सार्थक संवादका लागि आपसी विश्वास अपरिहार्य हुने उल्लेख गर्दै शान्ति प्रक्रियामा इस्लामाबादले देखाएको रचनात्मक सक्रियताको सराहना गरेका छन् ।
प्रधानमन्त्री सरिफले पनि पेजेस्कियानलाई पाकिस्तानले अमेरिका र खाडी मुलुकहरूसँगको तनाव न्यूनीकरणका लागि गरिरहेको कूटनीतिक प्रयासबारे अवगत गराएका थिए ।
पाकिस्तानको प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार, तीन देशका विदेशमन्त्रीहरू इस्लामाबादमा अवतरण गर्नेछन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारको निमन्त्रणामा उनीहरू त्यहाँ पुग्न लागेका हुन् । भ्रमणका क्रममा उनीहरूले प्रधानमन्त्री सरिफसँग प्रत्यक्ष भेटवार्ता पनि गर्नेछन् ।
यसैक्रममा, राष्ट्रपति पेजेस्कियानले प्रधानमन्त्री सरिफसँगको संवादपछि ‘एक्स’मा आफ्नो धारणा सार्वजनिक गरेका छन् । यद्यपि, उनले सो पोस्टमा द्विपक्षीय कुराकानीको उल्लेख नगरी इरान–युद्धप्रति आफ्नो स्पष्ट अडान व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, “हामीले पटक–पटक के भनेका छौँ भने इरानले पहिलो प्रहार गर्दैन । तर, यदि हाम्रा पूर्वाधार वा आर्थिक केन्द्रहरूलाई निसाना बनाइयो भने हामी कठोर जवाफ दिन बाध्य हुनेछौँ ।”
खाडी राष्ट्रहरूलाई लक्षित गर्दै उनले अझै चेतावनीपूर्ण स्वरमा भने, “यदि तपाईंहरू विकास र सुरक्षा चाहनुहुन्छ भने, हाम्रा सत्रुहरूलाई तपाईंहरूको भूमिबाट युद्ध सञ्चालन गर्न नदिनुहोस् ।”













