ओली पक्राउविरुद्ध एमालेको देशभर विरोध, प्रशासनमा ज्ञापनपत्र बुझाइँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि देशभर आन्दोलन जारी राखेको छ।
पार्टीले आज मध्याह्न १२ बजे देशभरका जिल्ला प्रशासन कार्यालयमा पुगेर विरोधपत्र बुझाउने कार्यक्रम राखेको छ। एमालेका सचिव महेश बस्नेतले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिएका छन्।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिजो बिहानै पक्राउ गरिएको थियो। त्यसपछि एमालेले आकस्मिक बैठक बसेर तत्काल रिहाइको माग गर्दै आन्दोलन घोषणा गरेको हो।
शनिबार काठमाडौंको माइतीघर–बिजुलीबजार क्षेत्रमा दिनभर तनाव भएको थियो। कार्यकर्ताहरू सडकमा उत्रिएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
एमालेले यो पक्राउलाई गैरकानुनी र राजनीतिक पूर्वाग्रह भएको बताएको छ। पार्टीले कानुनी र राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। यता सरकारका प्रवक्ता सस्मित पोखरेल ले भने सरकार प्रतिशोधको भावनाले नचलेको दाबी गरेका छन्।












