ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

User Image Prime TV News १ हप्ता अगाडि
Image of ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई अदालत लगिएको थिएन। प्रहरीले आज अदालत खुलेसँगै दुवैलाई उपस्थित गराउने तयारी गरेको जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन निकै हिंसात्मक बनेको थियो। उक्त घटनामा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने २४ सयभन्दा बढी मानिस घाइते भएका थिए।

प्रदर्शनका क्रममा सरकारी कार्यालय, अदालत, राष्ट्रपति भवन, व्यापारिक स्थल र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। यस्तो अवस्था देशका लागि अत्यन्तै गम्भीर र दुःखद मानिएको छ।

घटनाको छानबिनका लागि बनेको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। त्यसपछि सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।

चैत १४ गते बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित घरबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको थियो। पक्राउपछि विभिन्न ठाउँमा उनीहरूका समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए।

हाल ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन् भने लेखक प्रहरी हिरासतमा छन्। आज अदालतमा पेश भएपछि उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढ्नेछ।