ओली पक्राउपछि एमाले आन्दोलित, देशभर प्रदर्शन गर्ने निर्णय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै चारवटा निर्णय गरेको हो। बैठकपछि नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
निर्णय अनुसार एमालेले ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक रूपमा कडा प्रतिवाद गर्नेछ। साथै, आज दिउँसो ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गरिनेछ।
त्यसैगरी, भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा ठूलो प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
बैठकले गरेका चार निर्णय-
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।












