ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुनुहुदैनः ऊर्जा मन्त्री श्रेष्ठ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् ।
नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताए । “२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन बढेर गएको छ, समयसापेक्ष रूपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिने छ,” उनले बताए ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गर्नुभयो । अन्तरमन्त्रालय समन्वय गरेर ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लागिने उनको भनाइ थियो ।
उनले पानीको अभावले खेतीयोग्य जमिन बाँझो हुने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । मन्त्री श्रेष्ठले सहरी र ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ निर्माणका लागि ‘टिम’ बनाएर अगाडि बढ्ने बताए ।
वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई थप बलियो बनाउनुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले २१औँ शताब्दी भनेको अनुसन्धानको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको बताए ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा आएको उजुरी र यहाँ भएका चुनौतीलाई अध्ययन गरेर समाधानमा लाग्नुपर्ने भन्दै मन्त्रालयमा भएका कामका बारेमा प्रत्येक हप्ता सञ्चार माध्यममार्फत आम जनतासम्म लैजान कर्मचारीलाई निर्देशनसमेत दिए ।
विवेकशील साझा पार्टीका तर्फबाट विसं २०७४ सालमा, समानुपातिकतर्फबाट बाग्मती प्रदेशको प्रदेशसभा सदस्य बन्नुभएको श्रेष्ठ विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट विजयी भई युवा तथा खेलकुदमन्त्री बनेका थिए । प्रदेशसभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन मन्त्री श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए । रासस












