बालेन शाहको मन्त्रिपरिषद्: पाँच मन्त्रालय गाभिने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन हुने तयारी भइरहेको छ। यसमा केही मन्त्रालयहरू एकसाथ गाभेर एउटै मन्त्रीलाई जिम्मेवारी दिइने योजना बनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, कम्तिमा पाँच मन्त्रालय अन्य मन्त्रालयसँग गाभिनेछन्। शहरी विकास, युवा, खानेपानी, भूमि व्यवस्था, वन तथा वातावरण मन्त्रालयलाई अरू मन्त्रालयसँग एकठाँउ गाभेर जिम्मेवारी बाँड्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन शाहले रक्षा र उद्योग मन्त्रालय आफ्नै जिम्मेवारीमा राखेका छन् र यी मन्त्रालय गाभिने सम्भावना कम छ।
गाभिने मन्त्रालयहरूको सम्भावित सूची भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालय मन्त्रालय गाभिने बताइएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेर औपचारिक रूपमा मन्त्रालयहरू गाभ्ने निर्णय गर्नेछ। यसले मन्त्रालयहरूको संख्या करिब १६–१७ मा सीमित हुने अनुमान गरिएको छ ।












