चेक रिपब्लिक प्लेअफमा, आयरल्यान्डलाई पेनाल्टी प्रहारमा ४–३ ले पराजित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । चेक रिपब्लिकका गोलकिपर मेटाज कोभारले खेलअघिको पेनाल्टी अभ्यासले टिमलाई विश्वकपको यूईएफए क्वालिफायर्सको प्लेअफमा स्थान बनाउन सहयोग गरेको बताएका छन् ।
बिहीबार चेक रिपब्लिकले यूईएफए क्षेत्रीय छनोटको दोस्रो चरणमा आयरल्यान्डलाई पेनाल्टी प्रहारमा ४–३ ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो । यही खेलमा दुई पेनाल्टी प्रहार बचाउ गरेका गोलकिपर मोभाकले खेलअघिको पेनाल्टी अभ्यासले टिमलाई प्लेअफमा स्थान बनाउन सहयोग गरेको बताएका हुन् ।
“टिमले राम्रो सुरुआत नगरे पनि खेलअवधिभर दबाबका बीच सम्हालिएर खेल्यो । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हामीले यसअघि नै पेनाल्टीको लागि पर्याप्त अभ्यास गरेका थियौँ । गोलकिपर प्रशिक्षकहरूले राम्ररी प्रशिक्षण दिएका थिए । मलाई यही अभ्यासका कारण पेनाल्टी प्रहारमा सहज भएको जस्तो लाग्यो,” गोलकिपर मेताज कोभारले भने ।
निर्धारित समयमा खेल २–२ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी अवसरमा धकेलिएको थियो । खेलमा १९औँ मिनेटमा ट्रोइ प्यारोटले आयरल्यान्डलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा चेक रिपब्लिकबाट आत्मघाती गोल उपहार पाएपछि आयरल्यान्डले २–० को अग्रता बनाएको थियो ।
२७औँ मिनेटमा चेक रिपब्लिकका प्याट्रिक स्चिकले गोल गर्दै टोलीलाई १–२ को स्थितिमा फर्काएका थिए । ८६औँ मिनेटमा लेडिस्लाभ क्रेज्कीले टोलीको निम्ति बराबरी गोल फर्काएका हुन् ।













