निर्वाचनको परिणाम भने अनपेक्षित र अपत्यारिलोः केपी ओली

User Image Prime TV News १ हप्ता अगाडि
Image of निर्वाचनको परिणाम भने अनपेक्षित र अपत्यारिलोः केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई “जादुमय” भएको बताएका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

ओलीले अहिले नै निर्वाचन प्रक्रिया र नतिजाबारे धेरै टिप्पणी गर्ने समय नभएको बताए पनि परिणाम भने अनपेक्षित र अपत्यारिलो देखिएको उल्लेख गरे। उनले एमाले र पार्टीको लक्ष्यविरुद्ध विरोधीहरूले गलत प्रचार गरेको आरोप लगाए। उनले “समृद्ध नेपाल, सुखी नेपाली” अभियानविरुद्ध घृणाको राजनीति गरिएको दाबी गर्दै यस्तो प्रचारलाई विभिन्न ठाउँबाट सहयोग भएको पनि बताए ।

सम्बोधनका क्रममा ओलीले सांसदहरूलाई सत्य, सुशासन र विकासका पक्षमा काम गर्न निर्देशन दिए। उनले महाभारतको उदाहरण दिँदै अन्ततः सत्यकै जित हुने विश्वास व्यक्त गरे। साथै देश र जनताको हितका लागि एमालेले निरन्तर काम गर्ने पनि उनले बताए।