प्रचण्ड र बादल लामो अन्तरालपछि एउटै स्थानमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का तर्फबाट समानुपातिक सांसद बनेका रामबहादुर थापा ‘बादल’ लामो अन्तरालपछि एउटै स्थानमा देखिएका छन्।
बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा आयोजित पद तथा गोपनीयताको शपथ कार्यक्रममा सहभागी हुन पुग्दा दुवै नेता सँगै देखिएका हुन् . पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका यी दुई नेता झन्डै १८ वर्षपछि पुनः संसद्को एउटै थलोमा उपस्थित भएका हुन्।
विगतमा सशस्त्र द्वन्द्वकालदेखि नै एउटै राजनीतिक धारमा आबद्ध रहँदै आएका उनीहरू माओवादी आन्दोलनका प्रमुख हस्तीका रूपमा चिनिन्थे। रामबहादुर थापा २०७४ सालमा माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
तर २०७८ सालमा नेकपा विभाजन भएपछि उनले आफूलाई मन्त्री बनाउने माओवादी पार्टी त्याग्दै एमाले रोजेका थिए। हाल फरक–फरक राजनीतिक दलमा आबद्ध भए पनि संसद्मा दुवै नेताको पुनर्मिलनले नेपालको कम्युनिस्ट आन्दोलन भित्रको विगत, विभाजन र बदलिँदो राजनीतिक समीकरणलाई पुनः स्मरण गराएको छ।












