नेप्से परिसूचक बढेर २९५०.१६ विन्दुमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर २९५०.१६ विन्दुमा पुगेको छ। यस दिन नेप्से १४.२१ अंकले बढेको छ। सेन्सेटिभ इण्डेक्स १.९८ अंक, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले वृद्धि भएको छ।
तर, कारोबार रकम भने सामान्य घटेको छ। ३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड रुपैयाँबराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरले सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।
नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने शुभम् पावर करिब ६ प्रतिशतले बढेको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस दिन यस कम्पनीको ९४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ७२ करोड र नेशनल हाइड्रोपावरको ४६ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ, ३ उपसमूह घटेको छ भने म्युचुअल फन्ड उपसमूह स्थिर रहेको छ। जलविद्युत उपसमूह सर्वाधिक १.५६% ले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह १.५% ले वृद्धि भएको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८४% ले घटेको छ।













