भिड नियन्त्रणका नाममा प्रयोग गरिएको बन्दुक र रबर बुलेटले ठूलो मानवीय क्षति भयोः आयोगको प्रतिवेदन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'मा राज्यपक्षद्वारा गरिएको दमनमा घाइते भएका विवरण गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा २८ जना प्रदर्शनकारी घाइते भएका थिए। उनीहरूले बताए अनुसार सुरक्षाकर्मीले बिना चेतावनी निहत्था नागरिकमाथि गोली प्रहार गरेको थियो। शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले अश्रुग्याँस, रबर बुलेट र लाइभ राउन्ड गोली प्रयोग गरेको उल्लेख छ। अधिकांश घाइतेको घुँडा, छाती, पेट, टाउको र आँखामा चोट लागेको छ।
भर्खरै एमबीबीएस प्रवेश परीक्षा पास गरेकी १७ वर्षीया एकता शाहलाई बानेश्वरमा रबर बुलेट लागेर घुँडामा गम्भीर चोट लागेको थियो। कुमार उपाध्यायले घरको छतमा उभिएर हेरिरहेको बेला गोली पाखुरा हुँदै फोक्सो र ढाडसम्म पुगेको बताएका छन्। अर्का घाइते राम चर्माकारको आँखामा गोली लागेको थियो।
भदौ २४ गते कोटेश्वरमा उग्र समूहले एक प्रहरी हवल्दारमाथि आक्रमण गर्दा गीता कुमारी शाहलाई पेट्रोल छर्केर आगो लगाइदिँदा उनको शरीरको ४० प्रतिशत भाग जलेको थियो। प्रतिवेदनमा उल्लिखित अनुसार, दुई दिने आन्दोलनमा कुल २,५२२ जना घाइते भएका थिए।
जसमा १,३२८ जना प्रदर्शनकारी र २,०६८ जना सुरक्षाकर्मी रहेका छन्। काठमाडौँ उपत्यकामा सबैभन्दा बढी घाइते भएका थिए। आयोगले भिड नियन्त्रणका नाममा प्रयोग गरिएको बन्दुक र रबर बुलेटले ठूलो मानवीय क्षति पुर्याएको निष्कर्ष निकालेको छ।












