नेपाली कांग्रेसले महाधिवेशन नगरेका भ्रातृ संघहरूलाई विघटन गर्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले महाधिवेशन नगरेका भ्रातृ संघहरूलाई विघटन गर्ने तयारी थालेको छ।
पार्टीको केन्द्रीय समितिले समयसीमा भित्र महाधिवेशन नगरेका संघहरूको पदावधि स्वतः समाप्त हुने निर्णय गरेको छ। यसका लागि महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई संघहरूको अवस्था अध्ययन गरी प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको छ।
कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, निर्देशक समिति बनाए पनि धेरै संघहरूले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न सकेका छैनन्। अहिलेसम्म नेविसंघ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल थारू सङ्घले महाधिवेशन गर्न सकेका छैनन्।
नेविसंघले आफूलाई कांग्रेसको भ्रातृ संस्था बाट अलग भएको घोषणा पनि गरिसकेको छ। यसपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको तयारी भइरहेको छ। पार्टीले अध्ययनपछि विघटन गरेर नयाँ नेतृत्व नियुक्त गर्ने तयारी गरेको छ। यस अन्तर्गत सभापति गगन थापाले आफूनिकटका नेताहरूलाई जिम्मेवारीमा ल्याउने तयारी गरेको बताईएको छ ।












