प्रतिनिधिसभा सदस्यहरूको शपथ आज, संसद् औपचारिक रूपमा सक्रिय हुने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधिसभा सदस्यहरूको शपथ आज, संसद् औपचारिक रूपमा सक्रिय हुने तयारी

काठमाडौ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज सम्पन्न हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा कार्यक्रम आयोजना गरिँदैछ।

शपथ ग्रहण कार्यक्रमको नेतृत्व प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्। उनलाई यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

सचिवालयले जनाएको अनुसार शपथ कार्यक्रममा ४७ जना सांसदले नेपाली बाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषाको प्रयोग गर्नेछन्।

संविधानको धारा ९९ र ९१ (उपधारा ५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार शपथ अनिवार्य गरिएको छ। सांसदहरूलाई आवश्यक कागजातसहित समयभन्दा कम्तीमा दुई घण्टा अगाडि उपस्थित हुन निर्देशन दिइएको छ।

सचिवालयले सांसदहरूलाई औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरेको छ भने कार्यक्रमस्थलमा सिट व्यवस्थापन, रोष्ट्रम, सभामुख आसन लगायत सम्पूर्ण तयारी पूरा गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।