आयोगलाई प्रचण्डको बयानः गंगा दाहालको घरमा अवैध नगद भेटिएको प्रचार पूर्णतः गलत र कपोलकल्पित

User Image Prime TV News १ हप्ता अगाडि
Image of आयोगलाई प्रचण्डको बयानः गंगा दाहालको घरमा अवैध नगद भेटिएको प्रचार पूर्णतः गलत र कपोलकल्पित

काठमाडौ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगमा बयान दिँदै आफ्नो परिवारको कुनै अवैध गतिविधिमा संलग्नता नरहेको बताएका छन् । 

उनले भनेका छन् कि आफ्नी सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको प्रचार पूर्णतः गलत र कपोलकल्पित हो। “मेरो परिवारले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेको छैन। म काठमाडौंमा भाडाको निवासमा बस्दै आएको छु,” उनले आयोगमा भने।

प्रचण्डले २३ गतेको दमनको भर्त्सना गर्दै आन्दोलनकारीलाई सहिद घोषणा गर्न अपील गरेको र २४ गते सिंहदरबारमा सर्वदलीय बैठकमा सहभागी भएको जानकारी पनि दिएका छन्। उनले आफ्नो पार्टीले आन्दोलनको भावनालाई समर्थन गरेको भए पनि कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको दोहोर्‍याए। “यदि हाम्रो पार्टीका कोही सदस्य कानुन विपरीतको काममा संलग्न भए, प्रमाणित भएमा उसले कानुनी कारबाही भोग्नुपर्छ,” उनले भने।

साथै, उनले आन्दोलनमा आन्तरिक र बाह्य घुसपैठ भएको र युवाहरूलाई २४ गते नै घर फर्किन आग्रह गरिएको तथ्य पनि आयोगमा प्रस्तुत गरेका छन्। प्रचण्डले राजनीतिक हस्तक्षेपले सुरक्षा र प्रशासनिक निकायको व्यावसायिकतामा असर गरेको स्वीकार गर्दै भविष्यमा यस्ता घटना रोक्न युवा केन्द्रित रोजगारी र अवसरका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन्।