आयोगलाई बालेनको बयान: भदौ २३–२४ घटनाको जिम्मा तत्कालिन सरकारकै

User Image Prime TV News १ हप्ता अगाडि
Image of आयोगलाई बालेनको बयान: भदौ २३–२४ घटनाको जिम्मा तत्कालिन सरकारकै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भदौ २३ र २४ गते भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

जाँचबुझ आयोगलाई दिएको बयानमा उनले २३ गतेको शान्तिपूर्ण र्‍यालीलाई समर्थन गरेको तर आन्दोलनमा आफू सहभागी नभएको बताएका छन्। उनले दुवै दिन आफू लैनचौरस्थित सरकारी निवासमै रहेको उल्लेख गरेका छन्।

जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको आयोगको प्रतिवेदनमा बालेनको १७८ शब्दको बयान समावेश छ । उनले २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा भने नरहेको दाबी गरेका छन् । बालेनले सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको र त्यसले अवस्था शान्त बनाउन सहयोग गरेको दाबी गरेका छन्। साथै, घाइते र मृतकका परिवारलाई महानगरमार्फत सहयोग गरिएको पनि बताएका छन्।

उनले २४ गतेको घटना दुःखद भएको भन्दै २३ गते सरकारबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाएका छन्। बालेनका अनुसार काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएर आगलागी नियन्त्रण गरेको दावी समेत गरेका छन् । उनले सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलहरूले लिनुपर्ने बताएका छन्।