निर्वाचन लोकतन्त्रको ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले जेन–जी आन्दोलनपछि बनेको कठिन अवस्थाबीच पनि सरकारले सफलतापूर्वक निर्वाचन गराएको बताइन्। उनले तोकेको मितिमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले यस निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाएको छ र नयाँ राजनीतिक चरण सुरु गरेको उल्लेख गरिन् । उनले निर्वाचन सफल बनाउन सरकार, सुरक्षा निकाय र रामप्रसाद भण्डारी नेतृत्वको निर्वाचन आयोगको भूमिका महत्वपूर्ण रहेको बताइन्। साथै, यसपटकको निर्वाचनले सुरक्षा, पारदर्शिता र खर्च नियन्त्रणमा नयाँ उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।












