इरानमा पक्राउ परेका नेपाली युवा अमृत झाको रिहाइका लागि परिवारको आग्रह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । उदयपुरका एक नेपाली युवा इरानमा पक्राउ परेपछि उनको परिवारले सरकारसँग रिहाइका लागि पहल गर्न आग्रह गरेको छ।
उदयपुरको त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय अमृत झा इरानमा रहेको एक समुद्री कम्पनीमा काम गर्दै आएका थिए। उनी पानीजहाज चालकका रूपमा कार्यरत छन्। परिवारका अनुसार अमृत दुबईबाट इरानतर्फ इन्धन लिन गएका थिए।
फर्किने क्रममा बन्दर अब्बास नजिकै इरानी सेनाले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई स्ट्रेट अफ होरमुज आसपासबाट पक्राउ गरिएको बताइएको छ। हाल अमृत बन्दर अब्बासस्थित कारागारमा रहेको दाबी गरिएको छ। तर उनको स्वास्थ्य अवस्था र सुरक्षाबारे परिवारले कुनै स्पष्ट जानकारी पाउन सकेको छैन।
यस विषयमा अमृतका परिवारजनले नेपालको परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरूले परराष्ट्रमन्त्री बलानन्द शर्मा र परराष्ट्र सचिव अमृतबहादुर राई सँग भेट गरी छिटो रिहाइका लागि पहल गर्न अनुरोध गरेका छन्। परिवारका अनुसार मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण अमृतलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ।
परराष्ट्र मन्त्रालयले भने आफ्ना कूटनीतिक माध्यमबाट अमृतको अवस्थाबारे जानकारी लिन र रिहाइका लागि पहल भइरहेको जनाएको छ। परिवारले अमृतको सुरक्षा सुनिश्चित गर्दै यथाशीघ्र रिहाइ गराउन सरकारसँग आग्रह गरेको छ।







