बालेन शाह नेतृत्वको नयाँ सरकारमा मन्त्री चयनको तयारी अन्तिम चरणमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन शाह नेतृत्वको नयाँ सरकारमा मन्त्री चयनको तयारी अन्तिम चरणमा

काठमाडौ । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा मन्त्री चयनको तयारी अन्तिम चरणमा पुगेको छ।

स्रोतका अनुसार केही मन्त्रालयमा जिम्मेवारी टुंगिसकेको छ भने केही बाँकी छन्। पार्टी सभापति रवि लामिछाने बाँकी मन्त्रालयको अन्तिम निर्णयका लागि छलफलमा छन्। बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्।

सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन हुने देखिएको छ। १५–१८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको र चुनावी वाचापत्रअनुसार १८ भन्दा बढी सदस्य नहुने योजना छ। स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय सम्हाल्नेछन्।

उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्न निश्चित छन्। गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमा उनीहरूको जिम्मेवारी निर्धारणको छलफल भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्सालको नाममा विचार भइरहेको छ।

परराष्ट्र मन्त्रालयमा शिशिर खनालको चर्चा छ। स्वास्थ्य वा कानुन मन्त्रालयमा सोविता गौतमको नाममा छलफल भइरहेको छ। सोविता सभामुखको विकल्पमा पनि छ। सभामुख पदमा पूर्व सञ्चारमन्त्री जगदिश खरेल र प्रतिभा रावलको नाम चर्चा भइरहेको छ।

युवा तथा खेलकुद मन्त्रालयमा सुदन गुरुङ र मनिष झा पर्यटन वा सञ्चार मन्त्रालयमा सम्भावित छन्। २१ फागुनको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सिट जितेको थियो। प्रतिनिधि सभामा कुल १८२ सिटसहित पार्टीले झण्डै दुई तिहाइ बहुमतको बलियो सरकार गठन गर्न लागेको छ।