कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको विमान दुर्घटनाग्रस्त, ६६ जनाको मृत्यु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ। दर्जनौँ व्यक्ति घाइते भएका छन्।
विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य गरी जम्मा १२५ जना सवार थिए। दुर्घटनाग्रस्त विमान अमेरिकामा बनेको लकहिड मार्टिनको ‘सी-१३० हरक्युलिस’ हो, जुन सैनिकहरूको ओसार–पसारमा प्रयोग हुने विमान हो।
रोयटर्सका अनुसार, सोमबार प्युर्तो लेगुइजामो सहरबाट उडान भरेको विमान केही बेरमै खसेको हो। दुर्घटनास्थलमा आपतकालीन उद्धारकर्मीहरू खटिएका छन् र भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी भइरहेको छ। स्थानीय बासिन्दाहरूले घाइतेहरूलाई साना मोटरसाइकलमा राखेर अस्पताल पुर्याइरहेको दृश्य देखिएको छ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले विमान दुर्घटना अत्यन्तै दुःखद भएको बताए र विमानमा आगो लाग्दा गोलाबारुद पड्केको जानकारी दिएका छन्। सैन्य स्रोतले ६६ जनाको मृत्यु पुष्टि गरेका छन्। कोलम्बियाली वायु सेनाले घाइतेहरूको उद्धार र उपचारका लागि घटनास्थलमा टोली पठाइसकेको छ। यो दुर्घटना कोलम्बियाको वायु सेनाको इतिहासकै सबैभन्दा ठूलो र घातक मानिएको छ।













