सांसदहरू स्वकीय सचिव (पिए) सुविधा भने नपाउने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नवनिर्वाचित सांसदहरू सपथ लिएर संसद् प्रवेश गर्ने तयारीमा छन्। तर, उनीहरूले अघिल्ला सांसदहरूजस्तै स्वकीय सचिव (पिए) सुविधा भने पाउने छैनन्।
सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती गर्ने नीति अपनाउँदै सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरेको थियो। सो निर्णय हालसम्म कायम रहेकाले नयाँ सांसदहरू पनि उक्त सुविधाबाट वञ्चित हुने भएका छन्।
सरकारको निर्णयअनुसार सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाइएको छ। संसद् सचिवालयले पनि सो निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ।
अब यो सुविधा फिर्ता हुने वा नहुने भन्ने निर्णय नयाँ सरकारको हातमा रहनेछ। प्रतिनिधिसभामा ठूलो सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले यसबारे निर्णय गर्नुपर्नेछ।यसबीच, केही सांसदहरूले स्वकीय सचिवको सट्टा ‘रिसर्चर’ राख्ने प्रस्ताव गरेका छन्। उनीहरूका अनुसार नीति निर्माण र अध्ययन–अनुसन्धानमा सहयोगका लागि यस्तो व्यवस्था आवश्यक हुन्छ।
गुरु बरालले सांसदलाई प्रभावकारी रूपमा काम गर्न सहयोगी आवश्यक हुने बताएका छन्। यस्तै, ज्ञानेन्द्र शाहीले मितव्ययिता लागू गर्ने हो भने सबै तहका पदाधिकारीको सुविधा घटाउनुपर्ने धारणा राखेका छन्। यस विषयमा अन्तिम निर्णय भने अब बन्ने सरकारले गर्नेछ।







