कडा चेतावनीपछि अमेरिका पछि हट्न बाध्य भएको इरानको भनाई
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक संरचनामा सम्भावित आक्रमण स्थगित गर्ने निर्णय गरेपछि इरानले त्यसलाई आफ्नो चेतावनीको प्रभाव भएको दाबी गरेको छ।
अफगानिस्तानको काबुलमा रहेको इरानी दूतावासले एक वक्तव्य जारी गर्दै इरानको कडा सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको जनाएको छ। दूतावासका अनुसार इरानले स्पष्ट रूपमा आफ्नो प्रतिक्रिया जनाएपछि अमेरिका आक्रमण नगर्ने निर्णयमा पुगेको हो।
यसैबीच, इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछि हटेको’ भन्दै समाचार प्रकाशित गरेको छ। सो समाचारमा “Trump backs down!” शीर्षक राखेर अमेरिकाको निर्णयलाई इरानको जितको रूपमा प्रस्तुत गरिएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले ४८ घण्टाभित्र इरानका आणविक तथा ऊर्जा संरचनामाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। तर अन्ततः उनले आक्रमण नगर्ने निर्णय लिएका छन्। यो घटनाले अमेरिका र इरानबीचको तनाव अझै कायम रहेको संकेत गर्छ, यद्यपि दुवै पक्षबाट फरक–फरक व्याख्या भइरहेका छन्।













