कपिलवस्तुमा दुई समुदायबीचको विवाद अझै समाधान भएन

User Image Prime TV News १ हप्ता अगाडि
Image of कपिलवस्तुमा दुई समुदायबीचको विवाद अझै समाधान भएन

कपिलबस्तु । दक्षिणी कपिलवस्तुमा तीन दिनदेखि दुई समुदायबीचको विवाद जारी छ। सोमबार पनि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भएका छन् र केही प्रदर्शनकारी पक्राउ परेका छन्। प्रशासनले अझै निषेधाज्ञा जारी राखेको छ।

विवाद महाराजगन्ज–वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा सुरु भएको थियो। शनिबार प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका थिए। विरोध स्वरूप सोमबार प्रदर्शनमा उत्रिएका तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय हिन्दू परिषद् नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष विरेन्द्र चौधरी र जिल्ला उपाध्यक्ष सुनिल तिवारी रहेका छन्। विवादका कारण कपिलवस्तु नगरपालिका भित्रका सबै विद्यालय बन्द छन् र परीक्षाहरू स्थगित गरिएको छ।

जिल्ला प्रशासनले सामाजिक सञ्जालमा गलत सूचना नफैलाउन चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, “समस्या संवाद र वार्ताबाट मात्र समाधान गर्न सकिन्छ। बन्द, हड्ताल र चक्काजामले नागरिकको जीवनमा असर पार्छ।”

अन्तर धार्मिक सद्भाव संघ नेपालले सबै पक्षलाई शान्तिपूर्वक समस्या समाधान गर्न अपिल गरेको छ। संघका अध्यक्ष चन्दा थापाले समुदायबीच सद्भाव र सहअस्तित्व कायम राख्न अनुरोध गरेका छन्।