नेपालमा विदेशी एकल पदयात्रीका लागि निषेधित क्षेत्रमा नयाँ अनुमति

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपालमा विदेशी एकल पदयात्रीका लागि निषेधित क्षेत्रमा नयाँ अनुमति

काठमाडौ । सरकारले अब विदेशी पर्यटकलाई एकल रूपमा पनि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति दिने निर्णय गरेको छ। यो निर्णय अध्यागमन विभागले चैत ८ गते गरेको हो।

पहिले एकल पर्यटकले अनुमति पाउन सक्दैनथे र अर्को साझेदार खोज्नुपर्ने बाध्यता थियो। यसले पदयात्रा पर्यटनमा असर पुऱ्याउँथ्यो। ट्रेकिङ एजेन्सीहरू र ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल ले यसबारे गुनासो उठाउँदै आएका थिए। नयाँ नियमअनुसार एकल पदयात्रीले अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत आवेदन दिनु पर्नेछ । त्यसका साथै एजेन्सीले तोकेको गाइड अनिवार्य साथमा लैजानु पर्ने, पदयात्रामा आपतकालीन उद्धार (रेस्क्यु) को जिम्मेवारी एजेन्सीले लिनपर्ने ब्यवस्था गरिएको छ ।

सुरक्षा कारणले एक गाइडले अधिकतम ७ जना पर्यटक मात्र लैजान सक्ने नियम पनि तय गरिएको छ। यसैगरी, अब विदेशी नागरिकले आफ्नो मुलुकबाटै अनलाइन आवेदन दिन सक्नेछन्। भिसा नम्बर नभए पनि आवेदन सब्मिसन आईडीको आधारमा अनुमति पाउने व्यवस्था गरिएको छ।

नेपालका १३ जिल्लाका केही क्षेत्रलाई निषेधित मानिएको छ, जहाँ प्रवेश गर्न विदेशीले अनिवार्य अनुमति लिनुपर्छ। नयाँ व्यवस्था लागू भएपछि पदयात्रा अनुमति प्रक्रिया सजिलो र छिटो हुने विभागले जनाएको छ।