कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको दबाब, सरकारमाथि प्रश्न

User Image Prime TV News १ हप्ता अगाडि
Image of कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको दबाब, सरकारमाथि प्रश्न

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारसँग गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगले प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि सार्वजनिक नगरिनु विडम्बनापूर्ण भएको बताएका छन्।

पौडेलले प्रतिवेदन सार्वजनिक नगर्दा विभिन्न आशंका उत्पन्न भएको उल्लेख गर्दै यसलाई गुपचुप राख्नु उचित नभएको बताएका छन्। “आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो,” उनले भने, “यसलाई अघिल्ला आयोगहरूका प्रतिवेदनझैं लुकाइनु दुःखद हो।”

उनले प्रतिवेदन सार्वजनिक नगर्नुको कारणबारे प्रश्न उठाउँदै यस विषयमा सरकार स्पष्ट हुनुपर्ने माग गरेका छन्। “कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो? किन सार्वजनिक गरिँदैन? यो यक्ष प्रश्न बनेको छ,” उनले बताएका छन्।

यसैबीच, नेपाली कांग्रेसको आइतबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ। पौडेलले सरकार फेरिनुअघि नै आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।