पश्चिमी प्रणालीको प्रभाव बढ्यो, देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको चेतावनी
Prime TV News १ हप्ता अगाडि काठमाडौ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि सार्वजनिक गरेको पूर्वानुमान अनुसार देशका अधिकांश पहाडी र हिमाली भू–भागमा बादल लाग्ने र मौसम अस्थिर रहने संकेत दिएको छ।
दिउँसोको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने प्रबल सम्भावना रहेको छ।
बाँकी पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि यस्तै खालको मौसमी गतिविधि देखिन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ, जसले गर्दा त्यहाँको जनजीवनमा ठूलो असर पर्ने देखिँदैन।
रातिको समयमा पनि मौसममा सुधार आउने संकेत छैन। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना कायमै रहनेछ। अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत यस्तो गतिविधि देखिन सक्ने अनुमान गरिएको छ।
विभागले यस्तो अस्थिर मौसमलाई सामान्य रूपमा लिन नहुने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चट्याङ, वर्षा र हिमपातले आकस्मिक जोखिम निम्त्याउन सक्ने भएकाले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बसोबास गर्नेहरूले सावधानी नअपनाए अवस्था निकै खराब हुन सक्ने चेतावनी दिइएको छ।












