इरानसँगको युद्धबाट बाहिरिने तयारीमा ट्रम्प, शान्ति वार्ताको खोजी तीव्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा अपेक्षित सहयोगीहरूको साथ नपाएपछि अहिले त्यसबाट बाहिरिने सम्मानजनक बाटो खोज्न व्यस्त देखिएका छन्।
तीन हप्तादेखि जारी तनावपछि अमेरिकी प्रशासनले अब सैन्य विकल्पभन्दा कूटनीतिक समाधानतर्फ ध्यान केन्द्रित गर्न थालेको संकेत देखिएको छ।
अमेरिकी सञ्चार माध्यमका अनुसार, ट्रम्प प्रशासनले सम्भावित शान्ति वार्ताका लागि आन्तरिक रूपमा रणनीति बनाउने काम सुरु गरिसकेको छ। ट्रम्पका निकट सहयोगी वार्ताको सम्भावित ढाँचा तयार गर्ने छलफलमा संलग्न रहेका छन्।
हालसम्म अमेरिका र इरानबीच प्रत्यक्ष संवाद नभए पनि इजिप्ट, कतार र वेलायत जस्ता देशहरूले मध्यस्थता गर्दै सन्देश आदानप्रदान गरिरहेका छन्। इरानले वार्तामा रुचि देखाए पनि उसले युद्धविराम, भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी र क्षतिपूर्तिजस्ता कडा सर्तहरू अघि सारेको छ।
यता अमेरिकाले पनि इरानसामु कडा मागहरू राखेको छ। तीमध्ये पाँच वर्षसम्म कुनै मिसाइल कार्यक्रम अघि नबढाउने, युरेनियमको संवर्धन पूर्ण रूपमा बन्द गर्ने र नतान्ज, इस्फहान तथा फोर्डो आणविक केन्द्रहरू निष्क्रिय पार्ने सर्त प्रमुख छन्। साथै, आणविक कार्यक्रमसँग सम्बन्धित उपकरणमा कडा अन्तर्राष्ट्रिय निगरानी, क्षेत्रीय शस्त्र नियन्त्रण सन्धि लगाएतका सर्तसमेत राखिएको छ।
युद्ध लम्बिँदै जाँदा दुवै पक्षका लागि अवस्था जटिल र महँगो बन्दै गएको छ। त्यसैले शान्ति वार्ताको प्रयास तीव्र भए पनि दुवै पक्षका कडा सर्तका कारण छिट्टै सहमति हुने सम्भावना भने अझै अनिश्चित देखिएको छ।












