साना दललाई झट्का: राष्ट्रिय मान्यता पाए पनि प्रमुख सचेतक सुविधा नपाउने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त गरेका सबै दलले समान सुविधा नपाउने अवस्था देखिएको छ। कानुनी व्यवस्थाअनुसार ६ दलले राष्ट्रिय दलको मान्यता पाए पनि तीमध्ये दुई दल प्रमुख सचेतकसम्बन्धी सुविधा पाउनबाट वञ्चित भएका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आवश्यक मापदण्ड पूरा गर्दै राष्ट्रिय मान्यता प्राप्त गरेका हुन्। प्रत्यक्षतर्फ कम्तीमा एक सिट वा समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउने दललाई यस्तो मान्यता प्रदान गरिन्छ।
तर सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को प्रावधानका कारण श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रमुख सचेतकको सुविधा पाउनबाट वञ्चित भएका छन्। ऐनमा प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतक तोक्न पाउने व्यवस्था गरिएको छ।
हाल श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद मात्र रहेकोले उनीहरूले उक्त मापदण्ड पूरा गर्न सकेका छैनन्। यसैका कारण उनीहरूलाई प्रमुख सचेतक राख्न नपाउने र त्यससँग जोडिएका सेवा–सुविधाबाट वञ्चित हुने अवस्था बनेको हो।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद रहेका छन्। यी दलहरूले भने प्रमुख सचेतक नियुक्त गर्न पाउनेछन्।
प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, कार्यालय सहयोगी, मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च तथा उपसचिव स्तरको स्वकीय सचिव नियुक्त गर्ने सुविधा पाउने व्यवस्था छ। यस घटनाले राष्ट्रिय मान्यता प्राप्त साना दलहरूका लागि कानुनी मापदण्डले व्यवहारिक रूपमा असमान सुविधा सिर्जना गरेको बहस पुनः सतहमा ल्याएको छ।







