पोखरा विमानस्थल प्रकरणमा अख्तियारले २१ जनाविरुद्ध आरोपपत्र दायर
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी समावेश छन्।
अख्तियारले ठेक्का सम्झौताभित्रै रहेको बजेट नखर्च गरी अलगै लागत अनुमान स्वीकृत गरी सार्वजनिक संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको दाबी गरेको छ। विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा ठेकेदार कम्पनी 'चाइना सीएएमसी इन्जिनियरिङ' सँग सम्झौता हुँदा परामर्शदाता नियुक्तिका लागि छुट्याइएको २८ लाख अमेरिकी डलर गलत ढंगले खर्च गरिएको पाइएको छ।
अख्तियारको अनुसन्धान अनुसार परामर्शदाता 'ईआरएमसी/ए–नट/स्लेट जेभी' सँग ४२ करोड ८९ लाख ३६ हजार ७०० रुपैयाँमा सम्झौता भएको थियो र हालसम्म ४० करोड ६८ लाख २६ हजार ५६८ रुपैयाँ भुक्तानी भइसकेको छ। ठेक्का सम्झौताको विपरीत बढी लागत अनुमान, राष्ट्रिय स्तरको मात्र प्रतिस्पर्धा र परामर्शदातालाई लाभ पुर्याउने प्रक्रिया अगाडि बढाइएको पाइएको छ।
ठेकेदार कम्पनीले परामर्शका लागि छुट्याइएको २८ लाख अमेरिकी डलरमध्ये केवल १० हजार डलर खर्च गरेको र बाँकी रकम अन्यत्र खर्च गर्ने गरी मूल्य तालिका संशोधन गरेको पनि अनुसन्धानमा देखिएको छ। अख्तियारले दोषीमाथि बिगो, जरिवाना र कडा कारबाहीको माग गरेको छ।












