हालै सम्पन्न आम निर्वाचन अमेरिकी रणनीति र बाह्य शक्तिको डिजाइन अनुसार भएको होः महामन्त्री सिंह

User Image Prime TV News २ हप्ता अगाडि
Image of हालै सम्पन्न आम निर्वाचन अमेरिकी रणनीति र बाह्य शक्तिको डिजाइन अनुसार भएको होः महामन्त्री सिंह

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अवस्था गम्भीर संकटमा पुगेको बताएका छन्। चैत ५–६ गते बुटवलमा भएको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले हालको जनमत अमेरिकी रणनीति र बाह्य शक्तिको डिजाइनअनुसार आएको आरोप लगाए।

सिंहले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन र हिंसात्मक घटनाबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यी गतिविधिलाई जनमत भन्न नमिल्ने बताए। उनले भने, “संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइयो। यसले देशमा कठपुतली सरकार निर्माणको आधार तयार गर्‍यो।”

बैशाख २३ र २४ गते भएका आन्दोलनलाई भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भए तापनि स्पष्ट नेतृत्वको अभाव र राजनीतिक दिशानिर्देशन नहुँदा विभिन्न अवसरवादी शक्तिहरूले यसलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको उनले आरोप लगाए। उनले युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको आन्दोलनलाई “हाइज्याक” गरिएको पनि बताए।

सिंहले नेपालमा अमेरिकी प्रभाव विस्तार तीव्र भएको र केही राजनीतिक दलहरू त्यसप्रति नरम देखिएको दाबी गरे। एमसीसीजस्ता परियोजनामार्फत रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने चेतावनी दिए।

महामन्त्रीले चैत २३ र २४ गतेका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै दोषीमाथि निष्पक्ष र कडा कारबाहीको माग गरे। उनले शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने पक्षले हिंसात्मक गतिविधिप्रति जिम्मेवारी लिनुपर्ने पनि बताए।

पत्रकार सम्मेलनमार्फत मसालले वर्तमान राजनीतिक अवस्था राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। पार्टीले हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।