२१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घात र कमजोरीका कारण पराजय भएको कांग्रेसको निष्कर्ष

User Image Prime TV News २ हप्ता अगाडि
Image of २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घात र कमजोरीका कारण पराजय भएको कांग्रेसको निष्कर्ष

काठमाडौ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घात र कमजोरीका कारण पराजय भोगेको केन्द्रीय समितिले निष्कर्ष निकालेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, ५ देखि ३ हजारभन्दा कम मतान्तरले हार भएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक मतभिन्नता जिम्मेवार रहेको देखिएको छ। ३ हजारदेखि ५ हजार मतान्तरले पराजित क्षेत्रहरूमा आन्तरिक मतभिन्नताको साथै निर्वाचन अभियानमा कमजोरी देखिएको छ भने ५ हजारदेखि १० हजार मतान्तरले हार भएका क्षेत्रमा अन्तर्घात, कमजोर क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’का कारण पार्टीलाई रक्षात्मक बनाएको पाइएको छ।

चालिसेले भने, “निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा गहन छलफल भइरहेको छ। के यो भोटको माईग्रेसन मात्र हो कि जनताको माइन्डसेट नै माइग्रेट भएको हो, त्यसलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं।”

केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसप्रति विश्वासमा पनि कमी आएको देखिएको छ। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पार्टीका लागि गम्भीर चुनौती बनेको प्रवक्ताले बताए।

केन्द्रीय समितिको बैठकमा मुख्यत: निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित छलफल भइरहेको छ। बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजाने कार्यदिशा तय गर्ने योजना बनाएको जानकारी दिइएको छ।