नेविसंघको योगदान ऐतिहासिक, पार्टीले संस्थागत निर्णय लिन्छः कांग्रेस महामन्त्री घिमिरे

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेविसंघको योगदान ऐतिहासिक, पार्टीले संस्थागत निर्णय लिन्छः कांग्रेस महामन्त्री घिमिरे

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघको योगदान नेपालको राजनीतिक इतिहासमा अतुलनीय रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले संगठनको ऐतिहासिक गरिमालाई कसैले कम आँक्न वा विस्मृतिमा धकेल्न नसक्ने स्पष्ट पारेका हुन्।

वि.सं. २०२७ सालको पञ्चायती व्यवस्था विरुद्ध विद्यार्थीलाई गोलबद्ध गर्दै प्रजातन्त्रको पुनःस्थापनामा नेविसंघले खेलेको भूमिका कतिपय सन्दर्भमा मातृ पार्टीभन्दा बढी बलिदानपूर्ण रहेको उनले बताए। नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट उदाएका नयाँ दलहरूको सन्दर्भमा नेविसंघको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा घिमिरेले जोड दिए।

नेपाली कांग्रेसका महामन्त्री घिमिरेले नेपालमा ४० वर्ष मुनिका झन्डै १ करोड २० लाख युवा रहेको तथ्य औँल्याउँदै, कुनै पनि राजनीतिक दलले यो युवा शक्ति उपेक्षा गर्नु मूर्खता हुने चेतावनी दिएका छन्। उनले भनाए, “नयाँ पुस्ताको चाहना र बदलिँदो राजनीतिक परिवेशअनुसार भ्रातृ संस्थाहरूलाई अगाडि बढाउनु अहिलेको मुख्य चुनौती हो।”

महामन्त्री घिमिरेका अनुसार नेविसंघसँगै नेपाल तरुण दल र महिला संघ जस्ता अन्य भ्रातृ संस्थाहरूलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न पार्टीले छिट्टै संस्थागत निर्णय गर्ने तयारीमा छ। पार्टीले यस्ता संस्थाहरूको रिक्त पदहरू भर्ने र ठोस मार्गनिर्देशन जारी गर्ने योजना बनाएको छ।

साथै, नेविसंघका कार्यकर्ताहरूले पछिल्लो समय सिनेट बैठकको नाममा भएका गतिविधि अवैधानिक भएको आरोप लगाउँदै नेतृत्वलाई सचेत हुन आग्रह गरेका छन्। महामन्त्री घिमिरेले भने, पार्टीले यस्ता गतिविधिलाई सूक्ष्म रूपमा नियालिरहेको छ र संगठन कमजोर नपरोस् भन्ने सुनिश्चित गर्नेछ।