नयाँ सरकार अघि बढ्दै: रास्वपाको संकेत, राजनीतिक नियुक्तिहरू पुनरावलोकन हुने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको जनादेशपछि सरकार गठनको तयारीलाई तीव्र बनाउँदै अघिल्ला सरकारबाट भएका राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने संकेत दिएको छ। पार्टीले औपचारिक रूपमा राजीनामा माग नगरे पनि त्यस्ता नियुक्तिहरूले स्वेच्छिक रूपमा पद छाडेर नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले विगतका नियुक्तिहरूमा योग्यता र क्षमताभन्दा पनि राजनीतिक पहुँचलाई प्राथमिकता दिइएको भन्दै त्यसप्रति नागरिक असन्तुष्टि रहेको बताए। उनका अनुसार नयाँ जनादेशले शासन प्रणालीमा सुधार र पारदर्शिताको अपेक्षा गरेकाले पुरानै संरचना कायम राख्नु उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेको छ।
अनौपचारिक जानकारी अनुसार विभिन्न निकायमा करिब १,१०० हाराहारी राजनीतिक नियुक्ति रहेको अनुमान गरिएको छ। यस्ता नियुक्तिहरू हटेमा नयाँ सरकारले विषयविज्ञ र सक्षम व्यक्तिहरूलाई अवसर दिने तथा परिणाममुखी काम अघि बढाउने विश्वास रास्वपाले लिएको छ।
पार्टीले तत्काल सामूहिक रूपमा राजीनामा माग्ने निर्णय भने गरिसकेको छैन। यस विषयमा आन्तरिक छलफल जारी रहेको र आवश्यक परे आगामी दिनमा स्पष्ट नीति ल्याइने जनाइएको छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपाले १८२ सिट जित्दै सरकार गठनको स्पष्ट बहुमत सुरक्षित गरेको छ। पार्टीका तर्फबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाहले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।













