लिपुलेक नाकाबाट भारत–चीन व्यापार पुनः सुरु, नेपालको आपत्ति कायमै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिप्लेक हुँदै भारत र चीन बीच सीमा व्यापार पुनः सुरु हुने भएको छ। करिब ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यो व्यापार गतिविधिले क्षेत्रीय राजनीतिक र कूटनीतिक बहसलाई पुनः तातो बनाएको छ।
भारतीय समाचार एजेन्सी (पीटीआई) का अनुसार, उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईले केन्द्र सरकारको निर्देशनअनुसार तयारी सुरु भइसकेको जानकारी दिएका छन्। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने यो व्यापार सत्र यस वर्ष पुनः सक्रिय हुने बताइएको छ।
लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रभित्र पर्ने अत्यन्त संवेदनशील नाका हो। पुलाङ–गुन्जी क्षेत्रसँग जोडिएको यो मार्ग हाल भारतीय नियन्त्रणमा रहे पनि नेपालले यसलाई आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ।
नेपालले यसअघि पनि सन् २०१५ र २०२० मा भारत र चीनबीच लिपुलेक सम्बन्धी भएका द्विपक्षीय सहमतिहरूको विरोध गर्दै आएको थियो। नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएपछि यो विषय झन् संवेदनशील बनेको हो।
सीमा व्यापार पुनः सुरु हुने निर्णयले स्थानीय तहमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। तर, नेपालले दाबी गरिरहेको क्षेत्रमा दुई देशबीचको यस्तो सहकार्यले कूटनीतिक असन्तुलन निम्त्याउने चिन्ता पनि व्यक्त गरिएको छ ।












