स्ट्रेट अफ होर्मुज तनाव चर्कियो: ट्रम्पलाई इरानको जवाफ 'युद्धको नयाँ चरण'
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मध्यपूर्व क्षेत्रमा तनाव चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज ४८ घण्टाभित्र नखोले ठुलो सैन्य आक्रमण गर्ने चेतावनी दिएपछि इरानले पनि कडा प्रतिउत्तर दिने जनाएको छ।
इरानको सरकारी सञ्चारमाध्यमले चेतावनी दिँदै भनेको छ कि यदि देशका इन्धन तथा ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरिए, त्यसको प्रतिकारस्वरूप अमेरिकासँग सम्बन्धित ऊर्जा संरचनाहरूलाई निशाना बनाइनेछ। इरानले वर्तमान अवस्थालाई “युद्धको नयाँ चरण” को रूपमा व्याख्या गरेको छ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म “ट्रुथ सोसल” मार्फत चेतावनी दिँदै भनेका थिए कि यदि होर्मुज जलमार्ग खुला नगरिए, अमेरिकाले इरानका पावर प्लान्टहरूमा आक्रमण गर्नेछ र त्यसको सुरुवात सबैभन्दा ठुलो ऊर्जा केन्द्रबाट गरिनेछ।
यता, इरानले शनिबार इजरायल माथि गरेको आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। बिबिसीका अनुसार यो हमला हालसम्मकै सबैभन्दा घातकमध्ये एक हो। इजरायलका प्रधानमन्त्रीले उक्त घटनालाई 'अत्यन्त कठिन साँझ' को रूपमा वर्णन गरेका छन्।
यस क्षेत्रको द्वन्द्व गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता लगायत शीर्ष अधिकारीहरूको हत्या गरेपछि झन् तीव्र भएको हो। त्यसयता जारी संघर्षमा इरानमा मात्र ३,१८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित मानवअधिकार संस्था एचआरएएनएका अनुसार उल्लेख गरिएको छ।
यसबीच इरानका उच्च सुरक्षा अधिकारीहरू, जसमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रवक्ता अली मोहम्मद नैनी पनि मारिएका छन्।
युद्धबीच इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुड्स फोर्सका प्रमुख कमाण्डर ब्रिगेडियर जनरल इस्माइल कानी पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्। उनले शीर्ष नेतृत्व गुमे पनि आन्दोलन कमजोर नहुने र संघर्ष जारी रहने बताएका छन्।













