पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाड–हिमालमा बदली, वर्षा र हिमपातको सम्भावना
Prime TV News २ हप्ता अगाडि काठमाडौ । नेपालमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुप्रवाहको प्रभावले आइतबार देशभरको मौसम परिवर्तनशील बनेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाले चेतावनी दिँदै पहाडी–हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च भू–भागमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको जनाएकाे छ।
कोसी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा समेत यदाकदा वर्षा हुने अनुमान गरिएको छ। रातिको समयमा हिमाली भू–भागमा बादल थप हुने र मौसम सामान्यतया ढाकिनेछ। पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी, राति पनि कोसी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात दोहोरिन सक्ने उल्लेख गरिएको छ।
मौसमीय गतिविधि बढेकाले पहाडी क्षेत्रमा यात्रा गर्ने, चट्याङको सम्भावना हुने ठाउँमा बसोबास गर्ने तथा हिमाल–पहाडतिर काम गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।







