पद्मा अर्यालको ‘तह लगाउने’ अभिव्यक्ति प्रति महावीर पुनको प्रतिरोध

User Image Prime TV News २ हप्ता अगाडि
Image of पद्मा अर्यालको ‘तह लगाउने’ अभिव्यक्ति प्रति महावीर पुनको प्रतिरोध

काठमाडौ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ तथा समानुपातिक सांसद पद्मा अर्यालको अभिव्यक्तिमाथि कडा आपत्ति जनाएका छन्।

नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई 'तह लगाउने' भन्ने अर्यालको टिप्पणी सार्वजनिक भएपछि पुनले सामाजिक सञ्जालमार्फत कठोर प्रतिक्रिया व्यक्त गरेका हुन्।

पुनले अर्याललाई पुरानो राजनीतिक संस्कारको बोझ बोक्दै अहंकार प्रदर्शन नगर्न सुझाव दिँदै अहिलेको पुस्ताले पुराना नेताहरूभन्दा धेरै जान्ने, चलाख र जिम्मेवार हुने दाबी गरे। उनले लेखे, 'तिमीहरूले नयाँ नेताहरूलाई तह लगाउने कुरा गर्नु अगाडि, अहिलेका युवाले पुराना सोच भएका नेताहरूलाई कसरी पराजित गर्ने भन्ने तरिका राम्ररी सिकिसकेका छन्।'

गत आम निर्वाचनले पुरानो राजनीतिक शैलीमाथि जनताले कडा असन्तोष देखाइसकेको उल्लेख गर्दै पुनले अर्यालको बुझाइ नै पछाडि परिरहेको टिप्पणी गरे। उनले अर्याल समानुपातिक कोटाबाट आएका नेतामा पर्ने भन्दै ‘चाकरी र निष्ठा’को आधारमा राजनीतिमा टिकेको आरोप पनि लगाए।

पुनले लेखे, 'समानुपातिक सूचीमा चाकरी गरेर आएको मान्छेले यति ठूलो अहंकार देखाउनु शोभनीय छैन। अहंकार त्यागेर विवेकपूर्ण सहकार्य गर्न सिक'

विगत ३५ वर्षमा विश्वले भोगेका परिवर्तनहरू उल्लेख गर्दै पुनले २०४६ सालको मानसिकता लिएर आजको राजनीतिमा प्रतिस्पर्धा गर्ने सोच त्याग्न अर्याललाई आग्रह गरे।

उनका अनुसार, समय, समाज र मतदाताको सोच ऐतिहासिक रूपमा बदलिएको अवस्थामा पुरानो अहंकारी शैलीले अब स्थान नपाउने स्पष्ट सङ्केत देखिएको छ।