पाल्पामा टिपर दुर्घटना : चार जनाको मृत्यु

User Image Prime TV News २ हप्ता अगाडि
Image of पाल्पामा टिपर दुर्घटना : चार जनाको मृत्यु

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा गएराति भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

लु.२ ख ४५२५ नम्बरको टिपर झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गर्दा करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीले पुष्टि गरेका छन्।

दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते तानसेन–१० पटुवाका ३३ वर्षीय राजन चिदीले उपचारकै क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गुमाए। मर्नेहरूमा अर्घाखाँची शीतगङ्गा–४ का चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ का २६ वर्षीय सुनिल नेपाली रहेका छन्।

प्रहरीका अनुसार टिपर खाली अवस्थामा रहेको र साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट गहिरो खोंचमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।