उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई: चुनौतीका बीच निर्वाचन सफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देश कठिन राजनीतिक अवस्थाबाट सुरक्षित रूपमा अघि बढेको भन्दै उज्यालो नेपाल पार्टीले औपचारिक बधाइ ज्ञापन गरेको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर शान्तिपूर्ण, पारदर्शी र एकै चरणमा सम्पन्न भएको निर्वाचन ‘देशको इतिहासमै दुर्लभ उपलब्धि’ भएको भन्दै धन्यवाद दिएको हो।
घिसिङले चुनौतीले भरिएको समय, अविश्वासले गाँजेको वातावरण र निरन्तर भइरहेका आशंकाबीच पनि सरकारले दृढतापूर्वक नेतृत्व लिन सकेको उल्लेख गर्दै भने, “म हारे पनि देशले जितेको छ। तपाईंको नेतृत्वले देशलाई सेफल्यान्डिङ गरायो। अब संसदमा नभए पनि बाहिरबाटै देशका लागि काम गर्छु।”
प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले प्रतिस्पर्धी भएर मात्र होइन, प्रक्रियालाई मजबुत बनाउन योगदान पुर्याएको भन्दै उच्च प्रशंसा गरिन्। पार्टीमा विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको उपस्थितिलाई उनले ‘संसदबाहिर रहेर पनि राष्ट्रका लागि ठूलो काम गर्न सकिने शक्ति’को संकेतका रूपमा लिइन्।
उनले भनिन्, “एउटै निर्वाचन परिणामले निराश हुनुपर्ने कुनै कारण छैन। तपाईंहरू अविचलित रूपमा अघि बढ्नूहोस्, मेरो शुभकामना छ।” प्रतिनिधिमण्डलले खाडी मुलुकहरूमा जोखिम बढ्दै गएको, खासगरी निर्माण, सुरक्षा, सेवा र तेल क्षेत्रमा कार्यरत नेपालीहरू प्रत्यक्ष संकटको सामना गरिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो।
पार्टीका अनुसार वार्षिक करिब ८ खर्ब रुपैयाँ देशमा पठाउने १८ लाखभन्दा बढी नेपालीको जीवन अहिले असुरक्षित बन्दै गएको छ। यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु तथा अन्य घाइते भएका घटनालाई गम्भीर चिन्ताको विषय बताउँदै पार्टीले तत्काल प्रभावकारी कूटनीतिक पहल, उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि कडा माग गरेको छ ।
सरकारले श्रम स्वीकृति स्थगन, पीडित विवरण संकलन, आपतकालीन टोली गठन तथा प्रारम्भिक कूटनीतिक पहल सुरु गरेको कदमलाई स्वागत गर्दै पार्टीले अब डिजिटल ट्र्याकिङसहितको विस्तृत कार्ययोजना तत्काल सार्वजनिक गर्न माग राख्यो।
यस्तै गौरीबहादुर कार्की नेतृत्वको जेन्जी आन्दोलन छानबिन आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले सार्वजनिक नगरेको विषयलाई पार्टीले कडा शब्दमा आलोचना गरेको छ।
प्रतिवेदन नखुल्दा राज्यप्रतिको अविश्वास बढ्दै गएको र सत्य लुकाएर न्यायको बाटो नै बन्द गरिने खतरा रहेको पार्टीको चेतावनी छ। पार्टीले प्रतिवेदन तुरुन्त सार्वजनिक गरी राजनीतिक पारदर्शिता, न्याय र सामाजिक विश्वास पुनःस्थापित गर्न सरकारलाई आग्रह गरेको छ ।







