नेविसंघलाई कांग्रेस नेता पोखरेलको सुझाव: विधानमै संरचनात्मक परिवर्तन आवश्यक छ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले नेविसंघले कार्यगत स्वायत्तताको प्रस्ताव अघि सारेको निर्णयप्रति स्पष्ट रूपमा सकारात्मक प्रतिक्रिया दिएका छन्।
लामो समयदेखि कांग्रेसको प्रत्यक्ष प्रभावमा चलेको नेविसंघले अब संगठनलाई स्वतन्त्र बनाउने दिशामा चालेको कदमलाई उनले परिवर्तनको महत्वपूर्ण संकेत भनेका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, यदि नेविसंघले कांग्रेसको सिद्धान्तप्रति आस्था राख्दै पनि पार्टीको प्रत्यक्ष नियन्त्रण र प्रणालीबाट बाहिरिने गरी स्वायत्तताको प्रस्ताव पारित गरेको हो भने यो ‘गज्जबको निर्णय’ हो।
उनका अनुसार केवल प्रस्ताव पारित गरेर मात्र पर्याप्त हुँदैन, अब विधानमै संरचनात्मक परिवर्तन आवश्यक छ। संगठनको संरचना, नेतृत्व छनोट प्रक्रिया र कार्यशैली सबैलाई समयअनुसार परिमार्जन गर्न उनले सुझाएका छन्।
नेविसंघ पार्टी हस्तक्षेप, गुटबन्दी र निर्णयमा स्वतन्त्रताका अभावका कारण वर्षौंदेखि आलोचनाको केन्द्रमा रहँदै आएको अवस्थामा पोखरेलको यस्तो धारणा युवा राजनीतिमा नयाँ बहसको संकेत मानिएको छ।
नेता पोखरेलले विद्यार्थी संगठनले यदि साँच्चिकै स्वायत्त बाटो रोजेको हो भने त्यसले आफ्नो विश्वसनीयता र प्रभाव दुवै बढाउने उल्लेख गर्दै सुधारको यो प्रक्रिया अड्किन नदिन चेतावनी पनि दिएका छन्।







